खाँबु सेरोफेरो
छन्द : शार्दूलविक्रिडित
यो भूमि खाँबु हो अत्यन्त मनोहर, जस्तो अरू छ कहाँ ।
प्रकृति देवीको साक्षात नजराना, खुसी फुल्दछ जहाँ।।
थुम्का थुम्का असंख्य टार टाकुरा, कतै बेंसीको फाँट।
उदाउँछ पहिलो बिहानीको रोशनी , पूर्व बैथुम्की बाट।।
फुल्छ लालीगुराँस ढाकी रमिते, पाखा पखेरा भरी।
डुल्दछ पवनै मगमग बुकी त्यो , मिठो सुगन्ध छरी।।
असंख्य जलाधी खोली र खहरे, पाखा पखेरो भिर।
हुवास हो खाँबुको कोमल हृदय, रौतारानी हो शिर।।
पहाडको फरिया आहा त्यो हरिया, सुन्दर किर्किचि वन।
उड्छन् ती वारपार हुचिल र बेसारो, पङ्ख फिजाईकन।।
सँगाल्दै अनुपम त्यो प्रित मनोहर, पहाडकाे काख कुना।
कलकलकल अबिरल बग्दछ बरुवा, नित्य सुसेल्दै धुन।।
ब्राम्हण राई नेवार र कामी मगर, तामाङ्ग दमाई अनि।
बस्छन् है मितेरी सहिष्णु भावमा, साझा भातृत्व बनी।।
सभ्य सोच नितान्त सभ्य नागरिक, सभ्य समाज छ नि।
बाङ्गे डहर सालथुम्की र रानीवास, छाम्लिङ्ग बेतेनी पनि।।
झरझरझर झरना झर्दछ झमझम, सेता फोहोरा बुनी।
छरछरछर छहरा बज्रन्छ खोंचमा , लटाङ इनामे मुनि।।
खेल्छन् लुकामारी है त्यो तारेभीर, हुस्सु कुहिरो भित्र।
सौन्दर्य प्राकृतिक क्रिडा त्यो अद्भुत
, अहो कस्तो विचित्र।।
