आजभन्दा करीब साढे तीन सय वर्ष अगाडि। जतिबेला दक्षिणतिर भारतमा मुगल साम्राज्य बिस्तारै अस्ताउँदै थियो। र ब्रिटिश ईस्ट इंडिया कंपनीका व्यापारीहरूको चहलपहल बढ्दै गएको थियो,र त्यो समुह नेपालमा जतिबेला पनि प्रवेश गर्न सक्थ्यो। तर त्यहि समय, यता नेपालमा भने भाको देश पनि टुक्रिदै ससाना राज्यहरूमा विभाजन हुने क्रम चलिरहेको थियो। भनौं ५२ ओटा भन्दा धेरै राज्यहरूमा देश टुक्रीसकेको थियो। र नजिकका छिमेकी राज्यहरू सँग पनि विभिन्न बिषयमा मनमुटाव भइरहन्थ्यो। त्यस्तो अवस्थामा ती , अंग्रेज समूहहरू नेपाल प्रवेश गरीहलेको भए; सायद नेपालकाे पौराणिक अस्तित्व पनि बाँकी रहँदैन थियोहोला। किनकि शत्रु सँग लड्नलाई युनिटीको आबस्यकता पर्छ,जुन यहाँ पटक्कै थिएन। अझ भनौं घरभित्रको झगडाको फाइदा शत्रुले राम्रैसँग उठाउँथ्यो। तर त्यस्तो हुन पाएन,त्यसैले त अहिले हामी नेपाली हुँ भनेर गर्व गर्ने आधार छ। अब कुरा गरौं यो विशाल नेपाल एकीकरण कसरी सम्भव भयो त? नेपाल एकिकरणमा ककसको भूमिका रह्यो?
अन्य छिमेकी राज्यलाई हडपेर आफ्नो राज्यमा गाभ्ने सोच त्यो समय हरेक राज्यका राजाहरूलाई हुने गर्दथ्यो। त्यो सोचबाट गोरखाका शाह वंशीय राजाहरूपनि अछुतो रहन सकेन। लमजुङको राजा यसोब्रम्हा शाहको छोरा द्रव्य शाहले विसं १६१६ सालमा गोरखामा एकाधिकार जमाएपछि नै लम्जुङ सँग गोर्खालीको मनमुटाव सुरु भएको थियो। आफ्नो भाइ द्रव्य शाहले हाँसिल गरेको गोरखा राज्यमा आफ्नो अधिकार रहनुपर्ने नरहरि शाहको दाबी थियो, तर द्रव्य शाहलाई आफ्नो दाजुको उक्त दाबी स्वीकार्य हुँदैन। त्यसैले गोरखा र लमजुङको बारम्बार टकराव परिरहन्थ्यो। तरपनि गोरखा आफ्नो अडान भन्दा पछि हट्न चाहँदैन थियो। द्रव्य शाहले सुरुवात गरेको गोरखा राज्यलाई केहि मात्रामा छोरा पूर्ण शाहले विस्तार गरे। त्यसपछि पूर्ण शाहको राज्य विस्तार अभियानलाई छोरा राम शाहले पनि निरन्तरता दिए । उनले उत्तर तिर राज्य विस्तार गरी गोरखालाई थप बलियो बनाए। यसरी शाह वंशको द्रव्य शाहद्वारा स्थापित गोरखा राज्यको असली विस्तार अभियान भने नरभुपाल शाहको पालादेखि हुन्छ। तर सोचेजस्तो सफलता भने मिल्दैन। यसको उदाहरण हो नुवाकोट आक्रमणमा मिलेको पराजय।
विसं १७९९ पौष २५ गते नरभुपाल शाहको मृत्यु भएपछि गोरखा राज्यको राजा पृथ्वी नारायण शाह बने। त्यसपछि उनकै बुवाको योजना अनुसार नुवाकोटलाई आक्रमण गरे।त्यसबेला नुवाकोट पनि काठमाडौंका राजा जयप्रकाश मल्लको अधीनमा थियो। र गोर्खाली को तुलनामा उनीहरूसँग धेरै हात हतियार उपलब्ध थिए। त्यस माथि पनि बिनापूर्वतयारी गरीएको त्यो आक्रमणमा गोर्खाली फौज पराजित भए, जसरी नरभुपाल शाह पराजित भएका थिए। पहिलो आक्रमणमा हार व्यहोरेपछि, पृथ्वीनारायणले गम्भीरतापूर्वक सोच्नु पर्यो। र भारतको काशी तर्फ लागे, सँगै त्यससमयको भारतको अवस्था अध्ययन गरे । र साथमा युद्धको लागि केही हतियारहरू समेत संकलन गरेर नेपाल फर्किए। नेपाल फर्के लगत्तै विसं १८०१ असोज १५ गते नुवाकोटमाथि पुनः हमला गरे। त्यो पटकको आक्रमणमा भने गोर्खाली सेनाले सहजै विजय हासिल गर्यो। यससँगै नेपाल एकीकरणको थालनी भयो।
नुवाकोटमा विजय हासिल गरिसकेपछि उनको नजर काठमाडौंमा पर्यो। जहाँ उनले मकवानपुरबाट गोरखा फर्किने क्रममा चन्द्रागिरीबाट निशाना हालिसकेका थिए। तर तीन शक्तिशाली राज्य रहेको काठमाडौँ उपत्यकालाई आक्रमण गर्न त्यति सजिलो थिएन। त्यसैले काठमाडौँ उपत्यकामा नाकाबन्दी लगाउन सुरु गरे। त्यसैमाथि नुवाकोट बिजय पछि काठमाडौंसंग व्यापारिक सम्बन्ध रहेको भोट अर्थात तिब्बतसँगको केरुङ पट्टीको व्यापारमार्ग पृथ्वी नारायणको हातमा परिसकेको थियो। जसले गर्दा गोर्खाली हरू आर्थिक रूपमा पनि बलियो हुँदै आइरहेको थियो,जसको फाइदा आफूभन्दा आर्थिक अबस्था बलियो रहेको राज्यहरूलाई आक्रामण गर्नमा हुन्थ्यो। नुवाकोट आक्रमणमा विजयी भएको २/३ वर्षमै काठमाडौं उपत्यकाको केही भूभाग कब्जा गर्न पनि गोर्खाली हरू सफल हुन्छन्। तर विडम्बना उनीहरू त्यो स्थानबाट चाँडै लखेटिन्छन् पनि। यो घटनाबाट पृथ्वी नारायण शाहले काठमाडौंको मैदानी क्षेत्रबाट नभई अग्लो स्थान र थुम्काबाट घेर्ने योजना बनाउँछन्। यही योजना अनुसार, विसं १८११ साउन २१ गते नाल्दुम अर्थात अहिलेको नगरकोट कब्जा गर्छन। क्रमैसँग काठमाडौं वरिपरिका सबै थुमकाहरु कब्जा गर्छन्। जसले उपत्यकाको भित्री भागलाई आक्रमण गर्न सजिलो हुन्छ।
त्यसपछि विसं १८१४ जेठ १९ गते पाटन राज्य अन्तर्गतको कीर्तिपुरमाथि आक्रमण गर्छन्। तर यो आक्रमणमा भने गोर्खालीहरुले ठूलो हार व्यहोर्न पुग्छन्। यही आक्रमणमा काजी कालु पाँडेको मृत्यु हुन्छ,जो पृथ्बी नारायण शाहको सुरूवात देखिको सहयोगी थिए। यसै घटनामा जिवन थापा र लाटा खत्री लगायतका गोर्खाली सैनिकको मृत्यु हुन्छ। यो ठूलो हारपछि गोर्खालीको विजय यात्रा केही समयको लागि रोकिन्छ।
कीर्तिपुरको त्यो ठूलो हारबाट अनुभव प्राप्त गरी गोर्खाली सेनाले आफ्नो फौजलाई थप सशक्त बनाउन थाले। र विसं १८१९ सम्ममा काठमाडौं उपत्यकाको ३ मल्ल राजा हरूको धेरैजसो भूभाग गोर्खाली सेनाले आफ्नो कब्जामा पारिसकेका थिए। काठमाडौं उपत्यकाको मुख्य व्यापारिक नाका हरू नै गोर्खालीको कब्जामा रहेको हुनाले पनि ३ मल्ल राज्यहरूको आर्थिक अबस्था कमजोर हुँदै गरिरहेको थियो। यसैविच काठमाडौं उपत्यकालाई चारैतिर बाट घेर्न थाल्छन् गोर्खाली सेना ले, बाहिरबाट आउने सबै उपभोग्य वस्तुहरू रोकिदिन्छन्। तरपनि दक्षणतर्फ मकवानपुरबाट भने वस्तुहरू भित्रिरहेका हुन्थे, कारण थियो पृथ्वी नारायण शाहका जेठान दिगबन्धन सेन। जो त्यस समय मकवानपुर राज्यको राजा थिए, र पृथ्वी नारायण शाहसँग पारिवारिक खटपट र रिसिबी रहेको थियो।
त्यसैले गोर्खाली सेनाले मकवानपुर राज्यलाई नै अाक्रमण गरे तयारी गर्न थाले। र गरेपनि। तर विलासिताले जर्जरिएको मकवानपुरका सेनहरु गोर्खालीको अघि टिक्न सकेनन्। त्यसैले विसं १८१९ भदौ ९ गते मकवानपुर पनि पृथ्ीनारायणको कब्जामा रह्यो। आफ्नो स्वामित्व गुमाएपछि केही सेन राजाहरू भारततर्फ हान्निए, जहाँका नवाब हरुसंग उनीहरूकै विशेष सम्बन्ध थियो। सेनहरुको हारगुहार गरेपछि gurgin खानको नेतृत्वमा ठूलो संख्यामा नवाब फौज नेपाल भित्रिन्छन्। ५०० को संख्यामा हातहतियार अनि २ ओटा तोप सहित नेपाल भित्रिएका नवाबहरूको एउटै उद्देश्य हुन्छ कि गोर्खालीहरुलाई मकवानपुरबाट खेदाउनु। तर सोचेजस्तो हुँदैन, पहाडी क्षेत्रमा कसरी युद्ध लड्नुपर्छ भन्ने ज्ञान नभएका नवाबहरूको हार यसरी हुन्छ कि सारा हातहतियार छोडेर उनीहरू भाग्छन्। ति सबै हातहतियार गोर्खाली सेनाले संकलन गर्छन् र तिनै हातहतियारको प्रयोग् गरी गोर्खाली सेनाले ५ ओटा सैनिक कम्पनीको स्थापना गर्छन्। त्यसपछि त काठमाडौं उपत्यकालाई घेर्न झनै सहज वातावरण बन्यो।
उपत्यकामा नाकाबन्दी गरेर,गोर्खाली सेनाले चारैतिर बाट आक्रमण सुरु गरे। उपभोग्य सामग्री को संकट झेलिरहेको उपत्यकामा , यसपटक भने १८२२ चैत्र ३ गते कीर्तिपुरमाथि गोर्खाली सेनाले सजिलै बिजय हासिल गर्न सफल हुन्छ। आफुले जितेको कीर्तिपुर काठमाडौँ उपत्यकाको अग्लो स्थान भएका कारण पनि गोर्खाली सेनामा थप उर्जा मिल्छ। ताकि अग्लो स्थान बाट अन्य मैदान क्षेत्रमा अाक्रमण गर्न सजिलो होस।
यता गोर्खाली सेनाबाट आफ्नो क्षेत्र मिचिदै आएपछि कान्तिपुर अर्थात काठमाडौंका राजा जयप्रकाश मल्लले गोर्खाली हरुलाई उपत्यकाबाट धपाउने योजना बनाउन थाल्छन्। र गोर्खालीलाई उपत्यका बाट खेदाउन अंग्रेजहरुको सहायता लिन्छन्। तर मकवानपुरको घटनापछि अंग्रेजहरु पनि पृथ्वी नारायण शाह देखि तर्सिएका थिए। तर पनि यस्तो शक्तिशाली फौजले पछि आफुलाई पनि निशाना बनाउन सक्ला, त्यसैले कलिलै अवस्थामा यो शक्तिलाई निष्क्रिय पार्नुपर्छ भन्ने उद्देश्यले अंग्रेजहरू नेपाल भित्रिए। आधुनिक हातहतियार सहित को अंग्रेज फौज तराईको समथर भागमा त सजिलै पार गरे। तर पहाड उक्लन नपाउँदै सिन्धुलीमाढीमा गोर्खाली सेनाको फौजद्वारा आक्रमणमा पर्दा अंग्रेजहरु सम्हालिन सक्दैनन्, हतियार छोडेर विसं १८२४ मा त्यहाँबाट फरार भाग्छन्।
यो घटनापछि उपत्यकाको ३ मल्ल राजाहरू झनै हतासिए। उता गोर्खाली सेना भने अङ्ग्रेजले छोडेको हतियार संकलन गरेर थप शक्तिशाली बन्दै गइरहेका थिए। त्यसैले विसं १८२५ असोज १३ गते उपत्यकाको मल्ल राज्यमा प्रवेश गर्न सफल भए।
त्यसदिन नगर भरी इन्द्रजात्राको रौनक चलिरहेको थियो। त्यसैले पनि सहरको मुख्य प्रवेशद्वारहरुमा त्यति कडाइ गरीएको थिएन। भनौं सुरक्षा अबस्था लचिलो थियो।
त्यसैदिन भीमसेन स्थान,टुँडिखेल र नरदेवी गरि तीन स्थानबाट गरोखली सेनाले घेर्छन्,त्यसैबीच केही समयको लडाईपछि जयप्रकाश मल्ल आफ्नो केहि सेनाहरू लिएर पाटन राज्यतिर भाग्छन्, र यता राजा जयप्रकाश मल्लको राजगद्दी खाली भएपछि त्यहाँ पृथ्वी नारायण शाह बस्छन्। उता जयप्रकाशले भने जाँदाजाँदै तलेजु भवानीको छेउछाउमा बारूद छर्न भ्याउँछन्। र पछि त्यही बारूद पड्किएर सेनापति तुलाराम पाण्डे घाइते बन्न पुग्छन् र पछि मृत्यु हुन्छ। यसरी कान्तिपुर यानिकी पुरानो काठमाडौं राज्य पृथ्वी नारायण शाहको अधिनमा आउँछ। यसरी १८०१ असोज १५ गते नुवाकोट प्रवेश गर्न सफल भएको पृथ्वी नारायण त्यसको २४ वर्षपछि ठूलो मेहेनतले काठमाडौं यानिकी नेपाल खाल्डो प्रवेश गर्न सफल हुन्छन् । त्यो भन्दा अघिल्लो दिनसम्म उनले काठमाडौंको दहचोकलाई आफ्नो युद्धकालीन राजधानी बनाएका थिए। त्यहाँ बसेर उनले पश्चिमी भूभागको बचाउ गर्नुको साथै पूर्वमा टिष्टासम्मको युद्धलाई सम्हालेका थिए।
काठमाडौंलाई आफ्नो कब्जामा लिइसकेपछि पृथ्वी नारायण शाहले पटनलाई पनि कब्जा गर्ने योजना बनाउँछन्। र त्यसै अनुरूप काठमाडौंमा विजय प्राप्त गरेको ठीक ११ दिनपछि विसं १८२५ असोज २५ गते गोर्खाली सेना पाटनतर्फ अघि बढ्छ। तर जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजित मल्लको राज्य तिर भागिसकेका हुन्छन। त्यसैले पनि पाटन राज्यलाई कब्जा गर्न कुनै सङ्घर्ष गर्नै पर्दैन। स्वतः पृथ्वी नारायण शाहको अधिनमा आउँछ। उनी पूर्वतिर राज्य विस्तार गर्न सफल भइरहेको बेला उता आफ्नै गोरखा राज्य भने गुमाउने खतरा भइसकेको थियो, पुरानो शत्रु राज्य लम्जुङ्गले गोरखा माथि बारम्बार हमला गरिरहेका थिए। त्यसैले काठमाडौं र पाटनपछि तत्काल भक्तपुरलाई आक्रमण नगरी गोरखाको अस्तित्व बचाउन तर्फ लागे।
शत्रु राज्यबाट गोरखालाई जोगाइराख्न निक्कै जुक्ति लागाए पृथ्वी नारायणले, त्यसैले कौटिल्यको सिदान्त अनुसार चौबिसे राज्यभन्दा पर बाइसे राज्यसंग उनले मितेरी गाँस्न थाले। त्यही क्रममा जाजरकोटका राजासँग मित्रता गास्छन् र सल्यानी राजा कृष्ण शाहकी छोरासँग आफ्नी छोरी विल्लास्वतीको बिवाह गरिदिन्छन्। यो सम्बन्धले उनको पालमा मात्र होइन, नाति रणबहादुर शाहको पालाको राजकुमार वहादुर शाहलाई बाइसे राज्यहरू नयाँ नेपालमा गाभ्न सजिलो भयो।
अब आउँ काठमाडौं तिरै, काठमाडौं र पाटनमा विजयी भए लगत्तै पृथ्वी नारायणले भक्तपुरलाई अाक्रमण गर्दैनन्। यसको धेरै कारणहरू मध्ये,एउटा कारण हो कि भक्तपुरका राजा रणजित मल्ल उनको मितबुवा हुनु पनि हो। किनभने उनले रणजित मल्लको छोरा वीरनरसिंह मल्लसँग मित लगाएका थिए। त्यसैले मितबुवालाई फकाउने कोसिस गरे। तर रणजित मल्लले गद्दी नछोड्ने अडान लिएपछि भक्तपुरमाथि हमला गर्न पृथ्वी नारायण शाह बाध्य भए। र भक्तपुरलाई आक्रमण गरे। लगातार ३ दिनसम्म चलेको घमासान युद्धपछि विसं १८२६ माघ १ गते भक्तपुरमाथी गोर्खाली विजयी हुन्छ। यो युद्दमा धेरै जनधनको क्षतिपनी भयो,तथापि गोर्खाली सेनालाई भने ठूलो सफलता हात पर्छ। यही युद्दमा कान्तिपुरबाट भागेर आएको जयप्रकाश मल्ललाई गोली लागि घाइते बन्न पुग्छ र विसं १८२६ माघ ८ गते मृत्यु हुन्छ।
काठमाडौंलाई आफ्नो भूभागमा गाभिसकेपछि उनी पश्चिमतर्फ राज्य विस्तार गर्ने तयारीमा जुट्छन्। पुरानै रस्साकस्सी रहेको लम्जुङलाई परास्त गर्नु पृथ्वी नारायण शाहको चुनौती हुन्छ। त्यसैले ठूलो दलबलको साथमा उनी लमजुङमाथि हमला गर्छन। र बिजय हासिल गर्छन् पनि। तर जितको खुसियाली मनाउन नपाउँदै चौबिसे राज्यहरूका ठूलो संख्यामा सेना आइलगेपछि गोर्खालीको केही लाग्दैन। जितेको भूभाग फेरि खोसिन्छ। यतिमात्र होइन,यो युद्दमा केहरसिंह बस्न्यातले वीरगति प्राप्त गर्छन। अनि कालु पाँडेको छोरा वंशराज पाँडे विपक्षीको बन्दीमा पर्छन्। पश्चिमतर्फ राज्य विस्तार गर्ने क्रमममा भएको त्यो नमिठो हारपछि उनी गोरखा फर्किए र पूर्वी भाग विस्तार गर्न लागे। पूर्वतर्फ खटाइएका सेनाहरूले छोटो समयमै चौदण्डिगढी र विजयपुर लगायतका सेन राज्यहरूमा बिजय हासिल गर्यो। जसकारण पूर्व तर्फको सिमाना सिक्किम सम्म हुन गयो जसलाई पहिले सुख्खिम भन्ने गरिन्थ्यो। यसरी गोरखा देखि पूर्व सिक्किमको टिष्टा नदीसम्मको भूभाग एकीकरण गरिसकिएको थियो।
त्यसपछि पुनः पश्चिमतर्फको एकीकरण अभियानको तयारीको लागि पृथ्वी नारायण नुवाकोट फर्किन्छ। र नुवाकोटमा बसेर पश्चिम एकीकरणको योजना तयार गर्छन्। तर त्यही समय उनलाई कडा रोगले थलाउँछ। उनी युद्धको लागि निस्कन नसक्ने र धेरैदिन बाँच्न नसक्ने अनुमान लगाउँछन्। तरपनि उनलाई जसरी भएपनि लमजुङ लगायतको पश्चिमी राज्यहरू एकीकरण गर्नु थियो। त्यसैले आफ्ना सबै भारदारहरुलाई बोलाएर आफ्नो पुरै योजना सुनाउँछन् र उपदेश दिन्छन्। र विसं १८३१ माघ १ गते , मात्र ५२ वर्षको उमेर उनको मृत्यु हुन्छ।
यसरी जम्मा १२००० घरघुरी रहेको गोरखा राज्यको राजाले आफूभन्दा बलियो राज्यहरूलाई घुँडा टेकाउनुमा उनको पराक्रम देखिन्छ नै। त्यतिमात्र नभएर उनको सैनिक शक्तिको साहस पनि प्रस्टै देखिन्छ। तर यो भनिरहँदा एकपल्ट सोचौँ न,सैनिक शक्तिले मात्र एकीकरण सम्भव भयो होला त? राज्यभित्र त राजपरिवार मात्रै हुँदैनन्, त्यहाँ त हज्जारौं लाखौंको संख्यामा सर्वसाधारण रहेका हुन्छन् । उनीहरुलाई कसरी मनाए होलान् त? यस्को उत्तर विभिन्न पुस्तकमा लेखिएको छ, की उनी जहाँ अाक्रमण गर्थे त्यहाँका जनतालाई कुनै नोक्सानी नहुने गरेर आक्रमण गर्थे। अर्को कुरा उनले बिजय हासिल गरेको स्थानहरूको देवदेवता, धार्मिक र सांस्कृतिक पक्षहरूको रक्षा गर्नुको साथै स्थानीयहरुलाई कूनै प्रकारको कष्ट दिँदैन थिए। यो प्रकारको सौहार्द व्यवहारको कारण पनि जनताहरू पृथ्वी नारायण शाहको पक्षमा उभिन्थे।
✍️ सत्यराज राई
