अगाडिको दृश्यमा आँखा ठोकियो, आँखामात्र ठोकिएन मोटर्साइकलको गति पनि रोकियो। शनिबारको दिन, तीनचारजना बालबालिकाहरू सडकको पेटीमा बसेर काफल बेच्दै थिए। कसैले हातभरी गुराँसको फूल लिएर बसेका थिए। गाउँघरका केटाकेटी ब्राण्डेड र सुकिलामुकिला पहिरनमा नभएपनि बोली र व्यवहारमा निर्दोषपन मज्जैले झल्किरहेको थियो।
"अंकल, काफल लिनु न! सय रुपैयाँ मात्र हो।"
अर्को बोल्दैथियो "मेरो चै लिनु न अंकल!"
अर्कोको पालो " यिनीहरूको होईन मेरो चै लिनु न अंकल!"
यस्तो लाग्दैथियो यिनीहरूमध्ये कुनै एकको मात्र काफल किनभनें उनीहरू आफू आफू बीच नै झगडा गर्नेछन्। अनुहारमा हेरेँ। तछाडमछाड त थियो नै, मेरो काफल किनिदियोस् भन्ने भाव प्रत्येकको अनुहारमा झल्किएको थियो। बालअधिकार सम्बन्धि संस्थाहरूमा आबद्ध भएर थुप्रै बालबालिकाको सँगत गरेको हुनाले पनि उनीहरूको मनोविज्ञान सजिलै बुझ्न सक्थेँ।
"ल ल, तिमीहरू सबैको काफल म लिइदिन्छु, अब खुसी?"
पल्याकपुलुक एकअर्काको अनुहारमा हेर्दै हाे को इसारामा मुस्काए। अनि सबैको काफल एकठाउँमा जम्मा पार्न थाले, सायद मलाई सुम्पन।
"तिम्रो नाम केहो कान्छा?
"मेरो नाम, मेरो नाम किरण!"
"कति कक्षामा पढ्छौ?"
"पाँचमा"
"अनि भविष्यमा के बन्न चाहन्छौ नि?"
"मेस्सी!"
"मेस्सी होईन, मेस्सी जस्तै राम्रो खेलाडी भनन।"
"उम... त्यही...."
"अनि तिम्रो नाम चै केहो नानी?"
"मेरो नाम उषा, म नि पाँचमा पढ्छु, म त सिंगर बन्छु।"
"अाहा, तिमी सिङ्गर बन्ने? लौ न एउटा गीत सुनौ न उषाको मिठो स्वरमा!"
"लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो।
हिमालचुली मुन्तिर पानी भर्ने पधेरो...।"
"यो गीत कसले गाउनुभएको हाे, तिमिलाई थाहा छ उषा?"
"नाई, थाहा छैन! राम्राे लाग्छ त्येसैले....."
"यो गीत स्वर्गीय गायिका लस्मित राईले गाउनुभएको हाे है।"
"अनि यो काफल चै तिमीहरू आफैले टिप्छौ?"
"शुक्रबार चाँडै छुट्टी हुन्छ, स्कूलबाट फर्किएसी काफल टिपेर राख्छौं अनि शनिबार यहीं आएर बेच्छौं।"
यी फूलका कलिला कोपिलाजस्ता बालबालिकाहरूसँग भलाकुसारी गर्दागर्दै समय बितेको पत्तै भएन। अनि सोधेँ;
"ए,साँच्चि! तिमीहरूको काफलको मूल्य कति रुपैयाँ पाे हो?"
एकजनाले एक दुई तीन गर्दै साथीहरूलाई गनेर भने "पाँच सय"। मैले वालेटबाट हजारको नोट निकालेर दिएँ। एकजना बोली "हामीसँग त फिर्ता पैसा नै छैन... कि बस्दैगर्नु हामी अरु काफल नि टिपेर ल्याइदिन्छौँ।"
"त्यस्तो होईन, बाँकी पैसा तिमीहरू नै राख र यो पैसाले तिमीहरूलाई आबस्यक कापी कलम जे किने नि हुन्छ। अनि यति धेरै काफल म खाएर नि सक्दिनँ, यो पनि तिमीहरू नै राख अनि अरूलाई बेच है।"
"हुन्छ, तर...."
"अनि भोलिदेखि नियमित स्कूल जानु नि!"
"हुन्छ, आज त शनिबार भएर मात्र हाे।"
म उनीहरूसँग बिदा मागेर त्यहाँबाट उकालो लागे। केहि आनन्द पनि लाग्यो। आखिर म पनि त्यही उमेर पार गरेर यहाँसम्म आइपुगेको हो। र गाउँघर भन्नेबित्तिकै अवसर र सुविधाबाट टाढा, अनि तिनै गाउँघरमा पलाएका कला र प्रतिभाको मुना। उषा र किरणको सपना अनि सङ्कल्पले मनमा कताकता छोइरह्यो।
